काठमाडौं : सेयर बजारमा रौनक थपिएको छ । खरिदबिक्री रकमले नयाँ उचाई छोएको छ । नेप्से सूचक पनि दोहोरो अंकले माथि लागेको छ ।
पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता रहँदा सेयर बजारमा चमक आउन सकेको हो । लगानीका अन्य क्षेत्रहरु सुकचित हुँदा सेयर बजारतर्फ ठूला तथा साना सबैथरीका लगानीकर्ता आकर्षित भएका हुन् ।
बुधबार नेप्से परिसूचक २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ । नेप्सेमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ८० करोड बढी हो । मंगलबार १ अर्ब ८५ करोड बराबरको शेयर किनबेच भएको थियो । वाणिज्य बैंक समूहमा २२.९३ अंकको तेजी आएको छ । नेपाल पुनर्बिमा कम्पनी, नेको इन्सुरेन्स र नेपाल लाइफ इन्सुरेन्स खरिदबिक्री धेरै हुनेमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा परेका छन् ।
