काठमाडौँ: अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि शेयर बजारमा सुधार आउने आम लगानीकर्ताको मनोभावको विपरित आइतबार शेयर बजारमा एकैदिन ५२.४६ अंकको उतार चढाव आएको छ।
शुक्रबार खतिवडाले अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा धेरैले शेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुने र शेयर बजारले गति लिने आम अपेक्षाका विपरित आइतबारको बजार भने विपरित दिशातर्फ गएको हो । यसले अर्थमन्त्रीले छोड्नासाथ शेयर बजार उच्च दरले बढ्ने विश्लेषण समेत गलत साबित भएको छ ।
आइतबार प्रि ओपनिङ्ग सेसनमा नै ४२ अंकले बढेको बजारमा बिक्री चाप उच्च आउँदा नियमित कारोबारमा भने सुरुवातदेखि नै घट्न थालेको नेप्से बन्द हुने बेलासम्म १०.४५ अंक गरी कूल ५२.४६ अंकले घटेको हो । यसदिन ५२ अंकको उतार चढाव देखा पर्यो ।
ठूलो कारोबारीहरुले बजार बढाएर ठूलो कित्ताको शेयर कारोबार गराउन खोज्दा पनि शेयर बजारमा उच्च बिक्रीचाप आएको थियो । अर्कोतर्फ अघिल्लो साता ५२.५३ अंकले नेप्से बढेपछि आएको नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजार नकारात्मक बनेको हो ।
आज १९१ कम्पनीको ७० लाख २८ हजार ९९० कित्ता शेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँमा खरीद बिक्री भएको छ । कारोबारमा आएको १२ उपसमूहका सूचकमध्ये ब्यापार र म्युचुअल फण्डको सूचक बाहेक सबै १० वटै उपसमूहका सूचक ऋणात्मक बनेका छन् ।
