काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से साताको दोस्रो कारोबार दिन पनि दोहोरो अंकले घटेको छ।
सूचक घटेपछि दैनिक कारोबार रकम समेत घट्न पुगेको छ। आइतबारको तुलनामा सोमबार नेप्से सूचकको गिरावट बढ्दा कारोबार रकममा पनि थप संकुचनको अवस्था आएको छ ।
देशको अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनसँगै शेयर बजारमा सिर्जना गरिएको गत सातको ५२ अंकको वृद्धिमा प्रोफिट गरेका अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा पनि शेयर बजारमा खरीद भन्दा बिक्री चाप उच्च देखिएको हो ।
सोमबार नेप्से १२.१७ अंकले घट्दा २ अर्ब १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो । यसदिन १९२ कम्पनीका ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर २८ हजार ७८ पटक कारोबारमा आए ।
आइतबार १९१ कम्पनीका ७० लाख २८ हजार ९९० कित्ता शेयर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँमा खरीद बिक्री भएकोमा आइतबारको तुलनामा सोमबार कारोबारमा आएको शेयर कित्ता १४ लाख ३३ हजार र कारोबार रकम ३८ लाख २६ हजार रुपैयाँले घटेको हो।
सोमबार कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये ब्यापार सूचक साढे २ प्रतिशतले बढ्दा वित्त अन्य र लघुवित्तको सूचक सामान्य बढेका छन्। बैंकिङ्ग इन्डेक्स साढे १ प्रतिशतले घटेको बजारमा जीबन बीमाको सूचक पनि १ प्रतिशतले ओरालो लाग्यो ।
