काठमाडौँ: राष्ट्रिय गौरबको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना मंसिरभित्र सम्पन्न गर्न पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएको छ।
मन्त्रालयले जनशक्ति थपेर भए पनि मंसिरसम्म रुख गणना र नम्बरिङ सक्ने निर्णय गरेको हो। हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको उच्चस्तरीय सहजीकरण समितिको बैठकले आउँदो मंसिर मसान्तभित्र रुख तथा पोलहरूको लगत नम्बरिङको कार्य सम्पन्न गर्ने निर्णय गरेको हो।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि १५ दिनभित्र मोडालिटी टुङ्ग्याउने निर्णय समेत गरेको छ।
२०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिलाई स्थलगत निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गर्न १५ दिनको समय तोकेको छ। साथै, उक्त समिति सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरिएको छ।
त्यस्तै, विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिइएको छ।
बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य आगामी हप्ता दिनभित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ।
लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्तावमाथि अन्तिम निर्णय लिनेसमेत निर्णय गरेको छ।
मन्त्रालयले हाल १९ सय हेक्टर जमिनमा विमानस्थल निर्माण गर्ने गरि काम अगाडि बढाएको छ।
यसअघि २५ सय ५६ हेक्टरमा विमानस्थल निर्माण गर्ने गरी रुख काट्न पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेपछि विवाद भएको थियो।
व्यापक विरोधपछि सरकार उक्त प्रस्तावबाट पछि हटेको थियो। निजगढमा विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन गरेको ल्याण्डमार्क वर्ल्डवाइडले भने १३ सय हेक्टरमा विमानस्थल बनाउन सुझाएको छ।
