काठमाडौँ:अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने जानकारी गराएका हुन्।
उनले यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने बताए।
साथै, एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ। यस्तै विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ।
यसरी क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएको अवस्थामा परीक्षण गर्न नपर्ने प्रवक्ता गौतमले जनाए।
