काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताए ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याए ।

उनले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गरे । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आफ्ना तर्फबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए।

भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version