काठमाडौं:गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ ।
सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३००० खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो ।
यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका लागि खाद्यले १४०० वटा खसी–बोका र १६०० वटा च्याङ्ग्रा ल्याउन अनुमानित छ करोड रुपैयाँ बजेट छुट्याएको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले बताए ।
लामो समयदेखि खाद्य कम्पनीले उपभोक्तालाई खाद्यान्नका साथै दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा समेत उपलब्ध गराउँदै आएको छ । यस पटक पनि सोही कार्यक्रमलाई निरन्तरता दिन लागिएको नायव प्रवन्ध निर्देशक खनालको भनाइ छ ।
यस पटक कात्तिकमा दशैं परेका कारण खाद्यले खसी–बोका पनि ढिलै ल्याउने तयारी गरेको छ । प्रायः घटस्थापनाको अघिल्लो दिन काठमाडौंमा खसी–बोका ल्याउने खाद्यले यस पटक पनि सोही दिनलाई टार्गेट गरेर योजना बनाइरहेको उनले जानकारी दिए ।
दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी–बोका ल्याउने र च्याङ्ग्रा मुस्ताङबाट ल्याइने उनले बताए ।
