काठमाडौँ: असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको हो।

‘मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत उडान गर्नु भन्ने छैन। हामी फुल सिट क्षमतामै उडान गर्न अनुमति दिन्छौँ’, प्राधिकरणका एक उच्च अधिकारीले नेपालखबरसँग भने, ‘असोज ५ देखि नियमित रुपमा आन्तरिक उडान हुन्छ।’

प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार शतप्रतिशत क्षमतामै उडान गर्न दिने निर्णय भएको छ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सोमबारदेखि फुल क्षमतामा आन्तरिक उडान हुने बताए।

‘नागरिक उड्डयन मन्त्रालयले फुल क्षमतामा उडान गर्न पाउने भन्ने जानकारी आएको छ’, बर्तौलाले भने, ‘हामी नियमित उडान गर्छौँ।’

उनले पहिलाको तुलनामा भाडा नबढ्ने बताए ।

यसअघि आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालक संघ नेपालले आफू सम्बद्ध कम्पनीहरुले आधा क्षमतामा जहाज उडाउन नसक्ने भन्दै बुकिङ रोकेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version