काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थप्न तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन्।
फुटाउन लागेका मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छन्।
स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाइनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाइनेछ। त्यस्तै, भौतिक पूर्वाधार र यातायात गरी दुइटा अलग मन्त्रालय बनाइनेछ।
यी मन्त्रालय विगतमा अलग-अलग नै थिए। सार्वजनिक खर्च कटौती र प्रशासनिक सुधारको निम्ति मिल्दोजुल्दो कार्यक्षेत्र भएका मन्त्रालय आपसमा गाभिएका हुन्।
अहिले आएर फेरि नयाँ मन्त्रीलाई मन्त्रालयको भाग पुर्याउन विभाजन गर्न खोजिएको हो।
मन्त्रालय फुटाउनेबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइसकेको स्रोतको दाबी छ।
‘उहाँहरूबीच एक खालको सहमति भइसकेको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘अहिले २१ मन्त्रालय छन्। यसलाई टुक्र्याएर २४ मन्त्रालय पुर्याउनेबारे छलफल चलेको छ।’
संविधानअनुसार प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिपरिषद बनाउन मिल्दैन। तर, राज्यमन्त्री नराखी २४ वटा मन्त्रालय बनाउन मिल्ने भएकाले यसबारे छलफल भएको स्रोतको भनाइ छ।
‘मन्त्रालय बढाउनै नमिल्ने भन्ने छैन। कतिपय मन्त्रालय जोड्दा अडमिल्दा भएका छन्,’ एक मन्त्रीले भने, ‘मन्त्रालयहरू टुक्रिन्छन् भन्ने त छैन, तर २१ मन्त्रालयलाई २४ पुर्याउन सकिन्छ।’
मन्त्रालय टुक्र्याएर राज्यमन्त्रीविहीन मन्त्रिपरिषद बनाउने हो भने ६ जना मन्त्री थप्ने ठाउँ रहन्छ। अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय खाली छन्। अर्थ र सञ्चार प्रधानमन्त्रीले आफैं हेर्छन्। सहरी विकासको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालेका छन्। स्वास्थ्य, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्री छन्।
मन्त्रिपरिषद पुनर्गठन दसैंअघि गर्ने कि पछि भन्ने निर्णय प्रधानमन्त्रीले गरिसकेका छैनन्।
