काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता मध्ये ३६ प्रतिशतले अनलाइनको सुविधा लिएका छन्।

 

सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा जारी गर्दा सेयर बजारमा अनलाइन प्रयोगकर्ता बढेका हुन्। एक महिनाको अवधिमा ८६ प्रतिशतले बढेका हुन्।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो समय अनलाइन कारोबारका लागि युजनर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या एक लाख २० हजार ४९९ जना पुगेका छन्। एक महिना अगाडि अनलाइन प्रयोगकर्ता ६४ हजार ६१६ जना थिए।

 

हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ता तीन लाख ३७ हजार छन्। एक महिना अगाडि सक्रिय लगानीकर्ता दुई लाख ८७ हजार थिए। एक महिनाकै अवधिमा सक्रिय लगानीकर्ता २०.९८ प्रतिशतले बढेका हुन्। दोस्रो बजारमा सुधार आउन थाले सँगै लगानीकर्ताको सक्रियता पनि बढ्न थालेको हो।

 

अन्य क्षेत्रमा लगानी गर्न नपाएका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गरिरहेका छन्। प्राथमिक सेयरमा लगानी गर्नेहरु पनि विस्तारै दोस्रो बजारमा प्रवेश गर्न थालेका हुन्। जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक सेयरमा ८ लाख भन्दा धेरैले आवेदन दिएका छन्।

 

प्राथमिक सेयर मार्फत सेयरधनी भएका लगानीकर्ताहरु उक्त सेयर बिक्री गर्न पनि दोस्रो बजारमा लगानीकर्ता बन्नु पर्छ। प्राथमिक सेयरमा भएको नाफाबाट हौसिएका लगानीकर्ताहरु दोस्रो बजारमा पनि प्रवेश गरिरहेका छन्।

 

सबैभन्दा धेरै नासा सेक्युरिटिजले आफ्ना सक्रिय लगानीकर्ता मध्ये ८३ प्रतिशतलाई अनलाइन सुविधा प्रदान गरेको छ। हाल नासामा १३ हजार ४१ जना सक्रिय लगानीकर्ता छन् जस मध्ये १० हजार ७९० जनाले अनलाइनका लागि युजर नेम र पासवर्ड दिएको छ। ब्रोकर लाइसेन्स ओगटेर बसेको सगरमाथा सेक्युरिटिजका जम्मा ३ हजार ५७ जना मात्रै सक्रिय लगानीकर्ता छन् भने अनलाइन लिने जम्मा २४२ जना मात्रै छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version