काठमाडौँ: पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेकाे मौसमविद्ले शुक्रबार जानकारी दिएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।
‘मनसुन पश्चिमबाट क्रमशः बाहिरिँदै छ,’ महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शुक्रबार बिहान भने, ‘त्यस क्रममा पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटेको हो।’
उनका अनुसार अब त्यता मनसुनी वर्षा हुँदैन। बाँकी प्रदेशमा भने अझै मनसुनी प्रभाव छ।
महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : २०७७ असोज १५ गते बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमिका केही भूभागबाट मनसुन बहिर्गमन भएको छ। हाल बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुन केही दिन लाग्ने सम्भावना छ।’
मौसमविद् पौडेलका अनुसार पूरै नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ताजति लाग्ने अनुमान छ।
नेपालबाट मनसुन बाहिरिने मिति सामान्यतया गत सेप्टेम्बर २७ तारिख हाे। तर केही वर्षयता यसकाे अवधि लम्बिइरहेकाे छ। यस वर्ष त झन् सेप्टेम्बर २७ आसपास देशभर ठूलाे वर्षा भएकाे थियाे। माैसमविद्का अनुसार यसलाई मनसुनकाे उतारचढाव भनिन्छ।
तर केही दिनयता वर्षा हुने क्रम निकै घटेकाे छ। अब बिस्तारै मनसुन बाहिरिँदै गएकाे माैसमविद्ले बताएका छन्।
माैसमविद्का अनुसार मनसुनका बेला पूर्वी वायु चल्छ, जसलाई मनसुनी वायु भनिन्छ। त्यसलाई पश्चिमी वायुले विस्थापित गरेपपिछ मनसुन बाहिरिने हो। पूर्वबाट भित्रिने मनसुन बाहिरने बेला पनि पश्चिमबाट सर्दै पूर्वबाटै बाहिरिन्छ।
