दाङ : प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन्।
यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए।
उनीहरुले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन्।
यस्तै, नेपाली काँग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक राजधानी तोकियोस् भनेर दाङ राजधानी बनाउन नहुने प्रस्ताव पेस गरेका छन्।
उनीहरुले पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रलाई जोडेर राजधानी बनाउनुपर्ने प्रस्ताव सचिवालयमा दर्ता गराएको अधिकारीले बताए।
यसैबीच मंगलबार ९आज० दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन। प्रदेश सभा सचिवालय स्रोतका अनुसार दलहरु आआफ्नो आन्तरिक छलफलमा रहेकाले बैठक बस्न ढिलाई भएको हो।
