काठमाडौं: नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ ।

शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार तातोपानी नाका भएर कुनै पनि वस्तु नभित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले  बताए ।

‘चीनतर्फ रहेका तीन नेपाली श्रमिकलाई कोरोना देखिएको चिनियाँ अधिकारीले जनाएका छन्, आज कुनै वस्तु नाकाबाट आएको छैन,’ भन्सार प्रमुख खत्रीले भने ।

नाका खुलाउने सहमति बमोजिम गत शुक्रबार नेपाली ल्याबमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएका कामदारको दोस्रो टोली शनिबार नेपालले चीनतर्फ पठाएको थियो ।

आइतबार सोहीअनुसार नाका सञ्चालनमा आएको र नेपालबाट गएकाको आइतबार नै चिनियाँ पक्षले पीसीआर गरेका थिए । सोमबार प्राप्त नतिजामा तीन जना संक्रमण पाइएपछि नाका नचल्ने जानकारी गराइएको भन्सार कार्यालयले जनाएको छ ।

नाका बन्द भएपछि चीनतर्फ रोकिएका नेपाली कामदार नेपाल नै फर्काउनेबारे छलफल भएको र नेपाली यार्डसम्मै सामान खसाली दिन चिनियाँ अधिकारीलाई आग्रह गरिएको भन्सार प्रमुख खत्रीले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version