काठमाडौं- डा.गोविन्द केसीका माग सम्बोधनका लागि आज वार्ता हुँदैछ । तर, समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए ।

‘सरकारले बुधबार अबेर निर्णय गरेकाले समय तय भइसकेको छैन, मैले डा.केसीका प्रतिनिधिसँग पनि कुरा गरिरहेको छु सकभर १ बजे अघि नै नत्र ४ बजेपछि वार्ता गर्छौँ,’ मैनालीले भने ।

१ बजेदेखि शिक्षासम्बन्धीको सार्कस्तरीय भर्चुअल मिटिङमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै या त ४ बजेपछि वार्ता गर्ने मैनालीले बताए ।

२५ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उहाँका जायज माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अनसन तोडाउने तयारी भएको उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली बनाएको केही समयपछि बुधबार साँझ नै डा केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो। डा केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।

वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा.लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन्।

सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । लगत्तै सरकारले वार्ता टोली गठन गरेको हो ।

२५ दिनदेखि अनसनरत डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका डा.सुवास आचार्यले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version