काठमाडौँ: सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् ।
शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।
डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ ।
भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकित्सा शिक्षा र क्षेत्र सुधारको मागसहित उनले यो अनसनमा यो पटक भ्रष्टाचारका विषय छानविन र कारबाहीको मुद्दा पनि अघि सारेका थिए ।
कर्णाली लगायतका दुर्गमका जनताले सहज स्वास्थ्य सेवा पाउनु पर्ने, कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नुपर्ने तथा आफूसँग भएका विगतका सहमति कार्यान्वयन गर्नुपर्ने केसीका माग थिए ।
सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागून १० भित्र पढाइ सुरु गर्ने सहमतिमा उल्लेख छ ।
