काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि केन्द्र पार्टी तरङ्गित बनेको छ। माथि, केन्द्रका नेताहरूसँग कुनै परामर्श, छलफल नगरी एक्सन लिएपछि नेकपाभित्र साम्य हुन लागेको विवाद पुनः बल्झने खतरा बढेको हो।

कर्णाली प्रदेशका १८ जना सांसदहरूले विद्रोह गर्दै मुख्यमन्त्री शाहीविरुद्ध एक्सन लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता, केन्द्रीय सदस्यहरूलाई बोलाएर परामर्श गरेको स्रोतको दाबी छ ।

खुमलटारमा सोमबार बिहानै कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसहितको गोप्य बैठक बसेको थियो।

भेलामा प्रदेश इन्चार्ज जनार्दन शर्मासहित, पूर्वमाओवादी समूहका वर्षमान पुनसहित अधिकांश माथिल्लो तहका नेताहरू सहभागी थिए। वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय नेताहरू पनि थिए। त्यसपछि नेकपाका उच्चतहका नेताहरूको बैठक बसेको थियो। बैठकमा को–को थिए भनेर विस्तृतमा खुलाइएको छैन।

खुमलटारको छलफलपछि प्रदेशमा देखिएको अन्तरविरोध हल गर्न पार्टी अध्यक्ष प्रचण्ड र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू अहिले सुर्खेत उत्रिइसकेका छन्। खुमलटार भेलाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड बसेर यो विषय टुङ्ग्याउने र माथि अन्तरविरोध बढ्न नदिने निचोड निकालेको एक नेताको दाबी छ।

खुमलटार भेलालगत्तै ओली र प्रचण्ड छलफलमा छन्। सम्भवतः ओली, प्रचण्डले यस विषय किनार लगाउने भेटमा सहभागी एक नेताले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version