काठमाडौं: बजारभन्दा सस्तोमा किन्न पाइने भएपछि सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली बिक्री केन्द्रमा खसीबोका किन्नेको भीड लागेको छ।
कम्पनीले आजदेखि खसीबोका बिक्री गरिरहेको छ। बजारको भन्दा एक सय रुपैयाँ सस्तो मूल्यमा पाउने भएपछि बिहानैदेखि बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो। धेरै भीड भएपछि कर्मचारीलाई व्यवस्थापनमै समस्या परेको छ।
रानीबनबाट खसी किन्न पुगेका प्रमोद खत्री खसी नकिनि खाली हात फर्किएका छन् । खत्रीले भने, “खाद्यले बिहान ८:०० बजेबाट खसी बिक्री गर्ने समाचार थाहा पाएपछि हतार हतार थापाथली पुगे पनि खसी नकिनी रित्तै फर्किनु पर्यो।” बिहान ८ बजेपुग्दा उपभोक्ताहरुको पहिलेदेखि नै भीड भएको र सबैले खसी समातेर जोख्नका लागि लाइन लागेको उनले बताए। “आफु पुग्दा छनौटा खसी बोका मात्रै बाँकी रहेको र आफुले ३० -४० किलोको खसी चाहिनेमा बढीमा २० किलोको मात्रै बाँकी रहेकाले खसी नकिनी फर्किए,” उनले भने।
भोलि बिहान पनि अरु खसीबोका आउने खबर पाएको र भोलि बिहानै ६ नै बजे थापाथली पुग्ने उनले बताए। निजी ब्यापारीले भने अहिले बजारमा प्रतिकिलो जिउँदो खसीबोका ६२० देखि ६५० सम्म विक्री हुँदै आएको छ भने सीमित संख्यामा आएका च्यांग्राको मूल्य प्रतिकिलो ९०० देखि ९८० सम्ममा विक्री गरिरहेका छन् ।
कम्पनीले उपभोक्तालाइ सहुलियतमा उपलब्ध गराउन जिउँदो खसीबोका प्रतिकेजी ५ सय ५० रुपैयाँ मूल्य राखेको छ। प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकिएको भए पनि कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँ कायम गरेको हो।
कम्पनीले खसीबोका हेटौंडा र दाङको तुल्सीपुरवाट ल्याएको हो। हालका लागि एक हजार वटा खसीबोका ल्याउने भएको कमपनीले सबै ल्याइपुर्याएको छैन। आइतबार बेलुकासम्ममा कम्पनीमा ४ सय ५ वटा खसीबोका आइपुगेको थियो । बजारमा अभाव र उपभोक्ताको माग आए थप परिमाणमा ल्याउने कम्पनीले जनाएको छ।
