काठमाडौँ: नेपाल बैंकको नाफा कोरोना महामारीका कारण गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा ३ करोड रुपैयाँले घटेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण शनिबार सार्वजनिक गरेको छ । गत आवको यहि अवधिमा बैंकले ५८ करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कोरोना महामारीका कारण नेपाल राष्ट्र बैंकले कर्जाको वर्गिकरण गरी कर्जाको सावाँ तथा ब्याज तिर्ने समय बढाइ दिएपछि बैंकको कर्जा असुली प्रभावित भई खुद नाफा घट्न पुगेको हो । बैंकको पहिलो तीन महिनामा वितरणयोग्य खुद नाफा १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषको आकार १२ अर्ब ९८ करोड ५४ लाखबाट ७१ करोड १२ लाखले बढेर १३ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २७३.४९ रुपैयाँ छ ।
