काठमाडौँ: कोरोना त्रासको कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुँदै छ।

यस वर्ष परीक्षाका लागि पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डेढ घन्टामै हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँन लागेको हो। बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ।

२० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने छ।

सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको हो। ८ वैशाखदेखि सञ्चालन हुने तय भएको परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो। नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्ष कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन्।

विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयबाटै परीक्षा लिने व्यवस्थासमेत मिलाइएको छ। यस वर्ष कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन्।

सरकारले एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने परीक्षाबिनै माथिल्लो कक्षामा अध्ययन गर्न पाउने व्यवस्था गरिसकेको छ। एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने आन्तरिक मूल्यांकनकै आधारमा माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था गरिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version