काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।
