काठमाडौँ: नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महासंघको टेकुस्थित सचिवालयको हलमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली श्रम बजारको अध्ययन अनुसन्धान र तथ्याङक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ ।

परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट कार्यक्रममा अध्यक्ष रवि सिंह र महासचिव रोशन दाहाल सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले स्वदेशमा कामदार पाउन कठिन भइरहेपनि विदेशमा कामदारहरु गइरहेको अवस्थालाई परियोजनाले सम्बोधन गर्न सहयोग गर्ने बताए । निजी क्षेत्रका लागि सम्झौता कोशेढुङगा सावित हुने र त्यसको पूर्ण कार्यान्वयनका लागि महासंघ प्रतिबद्ध रहेको अध्यक्ष सिंहको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन बहादुर कटुवाल लगायतले नेपालको श्रम बजारको पछिल्लो अवस्था बारे आ–आफ्नो धारणा राखेका थिए ।

परियोजनाको प्रभावकारी कार्यान्वयन कृषि, पर्यटन तथा निर्माण उद्योगमा सरोकार राख्ने संघ संस्थाहरुलाई अत्यन्त फलदायी हुने अपेक्षा गरिएको छ । राज्यका निकायहरुलाई सम्बन्धित् क्षेत्रमा निति तथा कार्यक्रम तर्जुमा गर्नका लागि समेत यो परियोजनाले सहयोग गर्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version