काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपा विदेशीको इशारामा जुट्ने वा फुट्ने पार्टी नभएको दाबी गरेका छन्।

पार्टीको सचिवालय बैठक बसेको भोलिपल्ट (बिहीबार) बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै पर्यटनमन्त्रीसमेत रहेका नेकपा नेता भट्टराईले आफ्नो पार्टी नेपाली हावापानीमा हुर्केको मौलिक पार्टी भएकाले यो उत्तर वा दक्षिणको शक्तिबाट चल्ने पार्टी नभएको दाबी गरेका हुन्।

यसअघि बुधबार बिहान सचिवालय बैठक बस्नुअघि भने उनले सामाजिक सञ्जालमै लेखेका थिए, सर्वाधिक कठिन समय!

हुन त आजको स्टाटसमा पनि उनले लेखका छन्, ‘यो सत्य हो, अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्।। यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल? पेट्रोलले ऊर्जा पानीले ऊर्जा र जीवन। नेपालमा पानीका मुहान सुकेका छैनन्!’

उनले फेसबुकमा लेखेको स्टाटसको पूर्णपाठ यस्तो छः
घरेलु (नेपाली) बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो– नेकपा। यसको विकास र विस्तारमा कुनै आयातीत मल, बीउ र प्रवधििको प्रयोग गरिएको छैन। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी हो। यसको विकास वा विनास यसैभित्र अन्तर्निहीत छ।

‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’, यो मान्यता नेकपाको शरीरमा फिट नहुने सोच वा औषधि हो। अरू कसैमा यो उक्ति लागू हुन सक्छ। त्यो उनीहरूले नै जान्ने कुरा हो। एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभंग गरी एकताको इतिहास निर्माणको परिणाम हो।

यो सत्य हो, अहिले नेकपाका हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्। यो अवस्थामा प्रत्येक

सदस्यका दुई हातमा पानी कि पेट्रोल?

पेट्रोलले ऊर्जा

पानीले ऊर्जा र जीवन

नेपालमा पानीका मुहान सुकेका छैनन्!

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version