काठमाडौं : आज आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ।

पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको हो।

 

आइतबार बजार बन्द हुँदासम्म ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो। उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ। बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ। दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ। सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ।

कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचक घटेका छन्। यसअघिका दिनहरुमा व्यापार, बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको सेयर बिक्री गरी बैंक तर्फ आकर्षित भएको देखिन्छ।

 

त्यसैले अन्य समूहमा दवाव भइरहदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ। विकास बैंक शुन्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ। लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका सेयर खरिद गर्न झुम्मिएको देखिन्छ। घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ। यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version