काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गर्ने भनेको प्रदेश नम्बर २ को भ्रमण र प्रदेशसभालाई सम्बोधन गर्ने कुरा प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले विरोध जनाएका छन् ।
मण्डलले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् ।
‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’
मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न प्रम ओलीसँग अनुरोध समेत गरेका छन् ।
