चन्द्रौटा: कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी आज फेला पर्नुभएको छ ।

कपिलवस्तु नगरपालिका–३ घर भएका शाहनी कात्तिक १७ गते सोमबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको थियो । गौतमबुद्ध जन्मस्थल लुुम्बिनी र कपिलवस्तुुको तिलौराकोट घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरूकै भाषा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने शाहनीलाई प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

पर्यटकीयस्थल तिलौराकोटमा आउने पर्यटकको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार, प्रहरी तथा अन्य सरोकारवालाले खोजी कार्य गरेका थिए ।

प्रहरीले शाहनीलाई बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको पर्यटकीय महत्वका विषयमा बुझाउने गर्छन् । उहाँसँग नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान छ ।

कहाँ गएका थिए राहुल

कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्किएका शाहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुग्नुभयो । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्लिनुभयो ।

गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर ३ः३० बजे बेलिपार्कमा आमाको काकाकी छोरी मिरा शाहनी घरमा पुग्नुभयो । दिदीको घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकोले फर्किएको शाहनीले बताउनुभयो । जम्मा ३०० भारतीय रकम आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको शाहनीले बताउनुभयो ।

लकडाउनपश्चात् विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जाउँ भन्दै दबाब दिने गरेकाले आफू भागेको प्रहरीसमक्ष उहाँले बताउनुभएको छ । यता परिवार पक्षले कसैले अपहरण गरेको हुनसक्ने बताउँदै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version