एजेन्सी: फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो ।
सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए । केही समयअघि उनको बारेमा प्रकाशित यस आलेखलाई पुनः प्रकाशित गरिएको छ ।
इटली र सम्भवत युरोपकै सर्वाधिक गरिब शहर नेपल्सस्थित नापोली फुटबल क्लबले सन् १९८४ मा विश्वकै महँगा खेलाडीलाई बार्सिलोनाबाट ६.९ मिलियन पाउन्डमा किनेपछि सबैतिर सनसनी फैलियो । धेरैका मनमा मुख्यत दुई सवाल टड्कारो बनेर उभिएका थिए । एक – प्रचुर सम्भावना बोकेका स्टार खेलाडीले बाटो बिराएर नापोली किन आए ? (यतिबेलासम्म नापोली युरोपको ठूलो क्लब थिएन र ठूलो क्लब बन्ने कुनै छाँट पनि थिएन ।) दुई – ऋणमा डुबेर टाँट पल्टन लागेको क्लबले बार्सिलोनालाई तिर्ने मोटो रकम कहाँबाट ल्यायो ?
म्याराडोनालाई नापोलीको मैदानमा आयोजित पहिलो पत्रकार सम्मेलनमा सोधिएको पहिलो प्रश्न थियो –‘माफियाबारे तपाईंलाई थाहा छ कि छैन ? यहाँ सबैतिर उनीहरुको लगानी छ । कतै त्यही लगानीले म्याराडोनालाई तानेको त होइन ?’
जवाफमा क्लबका अध्यक्ष कोर्राडो फेर्लाइनोले जंगिदै भनेका थिए, ‘हामीले म्याराडोनालाई भित्र्याउन ठूलो दुःख गरेका छौँ । तपाईंको प्रश्नले यो क्लबकै बेइज्जत गरेको छ । म यो प्रश्नको जवाफ दिन्न, बरु प्रश्न सोध्नेलाई यहाँबाट निस्कन भन्छु । तपाईं तत्काल निस्कनुस् ।’
०००
डिएगो म्याराडोना अर्जेन्टिनामा जन्मिए, तर त्यो नापोली शहर नै हो, जहाँ उनी ‘भगवान्’ बने । यो प्रिय शहरसँगको म्याराडोनाको भावनात्मक सम्बन्धलाई वृत्तचित्रको रुप दिएका छन्, निर्देशक आसिफ कपाडियाले । भारतीय मुलका यी ब्रिटिस फिल्ममेकरले यसअघि ‘२००१’ मा इरफान खानलाई मुख्य भूमिकामा लिएर ‘द वारियर’ नामक फिल्म निर्देशन गरेका थिए । त्यसयता, ब्राजिलका रेसिङ ड्राइभर आइर्टोन सेन्ना र बेलायती गायिका एमी वाइनहाउसबारे उनले वृत्तचित्र बनाए । यी दुबै वृत्तचित्रले अन्तर्राष्ट्रिय स्तरमै राम्रो चर्चा बटुले । कपाडियालाई चिनाउने पहिलो फिल्म भने १९९७ को ‘द सिप थिफ’ हो । यो सर्ट फिल्म कान्स फिल्म फेस्टिभलअन्तर्गत सिनेफन्डेसन विधामा दोस्रो भएको थियो ।
समग्रमा आसिफको पाँचौ फिल्म हो – डिएगो म्याराडोना । म्याराडोनाबारे यसअघि नै धेरै फिल्म बनिसकेका छन् । तर २०१९ मा सार्वजनिक यो फिल्मले म्याराडोनाको बाल्यकाल र गरिबीका कथाभन्दा नापोलीमा उनले हासिल गरेको समृद्धी र त्यसलाई टिकाउन नसक्दाको पीडा बोल्छ ।
नेपल्स फुटबलमय थियो, तर यसलाई हेर्ने अन्य शहरवासीको दृष्टिकोण राम्रो थिएन । ‘हैजा फैलने ठाउँ, राम्ररी हात धुनुस्, भूकम्प पीडितको बस्ती, सफा पानी पिउनुस्…..,’ यस्तै–यस्तै नारा लेखिएका ब्यानर युभेन्टस्, इन्टर मिलानलगायत ठूला क्लबका समर्थकले नेपल्सविरुद्धको खेलका दौरान रंगशालामा ठड्याउँये । यसले म्याराडोनालाई आफ्नो अतितमा फर्काउथ्यों ।
म्याराडोना स्वयम्, उनकी पूर्वपत्नी, फिटनेस ट्रेनर, नापोली क्लबका अध्यक्ष, समकालीन खेलाडी, पत्रकारलगायतले म्याराडोना र उनको प्रिय क्लबबारे बोलेका छन् । यो डकुमेन्ट्री युट्बुयमा पनि उपलब्ध छ ।
स्टारको आगमन
नेपल्स शहर म्याराडोना आएपछि नयाँ युग सुरु हुने आशामा उत्साहित थियो । त्यसैले, पहिलो पटक सान पाओलो रंगशालामा म्याराडोना सार्वजनिक हुँदा ८५ हजार दर्शकले उनको स्वागत गरेका थिए । कुनै खेलाडीको स्वागतमा यति धेरै दर्शक ओइरिएको यो पहिलो र अहिलेसम्मको एकमात्रै अवसर हो ।
नेपल्स फुटबलमय थियो, तर यसलाई हेर्ने अन्य शहरवासीको दृष्टिकोण राम्रो थिएन । ‘हैजा फैलने ठाउँ, राम्ररी हात धुनुस्, भूकम्प पीडितको बस्ती, सफा पानी पिउनुस्…..,’ यस्तै–यस्तै नारा लेखिएका ब्यानर युभेन्टस्, इन्टर मिलानलगायत ठूला क्लबका समर्थकले नेपल्सविरुद्धको खेलका दौरान रंगशालामा ठड्याउँये । यसले म्याराडोनालाई आफ्नो अतितमा फर्काउथ्यों । अर्जेन्टिनाको भिल्ला फियोरिटास्थित बस्तीमा जन्मिएका थिए म्याराडोना, जहाँ पिउने पानी, नियमित बिजुली र सुत्नका लागि आरामदायी कोठाको अभाव थियो । धनीहरुले फियोरिटाको बस्तीलाई हेयको दृष्टीले हेर्थे, त्यसैले उनले फुटबल खेलेर परिवारका लागि राम्रो ठाउँमा घर किनिदिने सपना देखेका थिए ।
बार्सीलोनामा असफल भएका म्याराडोनामा विजयको भावना र आत्मविश्वास जगाउन उनका तत्कालीन फिटनेश ट्रेनर फर्नान्डो साइनोरिनी डटेर लागेका थिए । ‘मेरो बुझाइमा डिएगो र म्याराडोना दुई फरक व्यक्ति थिए । डिएगो चुलबुले बालकजस्तो निकै रमाइला । म्याराडोना त्यस्तो पात्र थिए, जसले फुटबल व्यापार र मिडियाको माग पूरा गर्न सक्नेगरी उत्रनुपथ्र्यो । म्याराडोनाले कुनै गल्ती गर्न नहुने थियो ।’
१५ वर्षको उमेरमै यो पूरा भयो, जतिबेला अर्जेन्टिनोज जुनियर्सले उनका लागि अपार्टमेन्ट लिइदियो । त्यसयता म्याराडोनाले आफूसँगै आफ्नो परिवारको खर्च जोहो गर्न थाले ।
पाँच सिजन अर्जेन्टिनोज जुनियर्समा बिताएर १९८१ मा म्याराडोना बोका जुनियर्सतर्फ लागे । लगत्तै, अर्को वर्ष युरोपकै धनी क्लब बार्सिलोनाले विश्वकै सर्वाधिक ठूलो मूल्यमा उनलाई किन्यो ।
