काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरीब नभएकाले साझा एजेण्डामा अघि बढ्न तयार रहेको बताएका हुन् ।

कोभिडबाट उत्पन्न असहज परिस्थितीमा आर्थिक कृयाकलाप चलायमान बनाउन उद्योगी व्यवसायको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाई थियो । “सरकार र निजी क्षेत्र बीचको संयुक्त प्रयासबाट मात्र अहिलेको समस्यासँग जुध्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनामा रहेका संस्थाका बिचमा सहकार्य गर्दै अघि बढ्नु पर्छ ।”

विश्व साँघुरिएका कारण कोभिडबाट जोगिन सहज नभएको बताएका उनले सुरक्षाका उपाय अबलम्बन गर्दा गर्दै पनि कोरोनाको माहामारी आक्रामक रुपमा फैलिरहेको बताए । यसका बिरुद्ध साझा रुपमा सबै मिलेर अघि बढ्दै अर्थतन्त्रधलाई माथि उकास्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकोमा कोभिडका कारण शुन्य वा केही माथिको अवस्थामा मात्र बस्नु परेको बताएका उनले सबै मिलेर अर्थतन्त्र उकास्न लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

अर्थतन्त्र उकास्ने सन्दर्भमा काम गर्ने वाताबरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । “सरकार मनको गरीब छैन, आफ्नो गक्ष अनुसार वा अझै एक कदम अघि बढेर उद्यमी व्यवसायीलाई सहयोग गर्नका लागि सरकारले अग्रसरता देखाउने प्रतिबद्धता तपाईहरु समक्ष व्यक्त गर्दछु” ओलीले भने ।

अर्थतन्त्र नै कमजोर बनिरहेका बेला सरकार पनि प्रभावित भएको अवस्थालाई बुझ्न आग्रह गरेका ओलीले साझा रुपमा मिलेर अर्थतन्त्र उकास्ने अभियानमा हातेमालो गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
“नयाँ उद्योग, व्यवसाय र कारोबारका क्षेत्रको पहिचान र कार्यान्वायनको काम निजी क्षेत्रले गरेको छ । अहिले पछिल्लो पुस्ताले झनै आधुनिक किसिमका कामहरु गरिरहेको छ । उनीहरुको तत्परता प्रशंसायोग्य छ,” प्रधानमन्त्री ओलीले भने ।

महासंघले महिला अध्यक्ष बनाएर नयाँ किर्तिमान कायम गरेको बताएका उनले महासंघ अध्यक्ष भवानी राणालाई महासंघ नेतृत्वमा बसेर गरेका कामको प्रशंसा गरेका थिए । प्रतिकुल अवस्थामा पनि नबढाई राणा नेतृत्वको समुहले महासंघलाई अघि बढाएको भन्दै उनले कार्यसमितिका सबैलाई धन्यवाद दिएका थिए । महासंघ कार्यसमितिसँग सरकारको समन्वय सफल रहेको बताएका उनले आगामी दिनमा पनि त्यसले निरन्तरता दिँदै अघि बढ्ने बताए ।

उद्योगी व्यवसायीलाई अघि बढ्नका लागि हौसला प्रदान गर्ने सन्दर्भमा सरकारले रचनात्मक भुमिका खेलिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

कृषिमा आधारित उद्योगको बिस्तार र आधुनिकीकरण जरुरी रहेको बताएका ओलीले रोजगारी तिब्र रुपमा बिस्तार र आर्थिक कृयाकलापलाई बढावा दिनु पर्ने आवश्यक्ता औंल्याए । “यसका लागि उद्योग वाणिज्य महासंघले रचनात्मक भुमिका खेल्नु पर्छ” प्रधानमन्त्री ओलीले भने, “सरकारले तपाईहरुलाई हर किसिमले सघाउनेछ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version