काठमाडौं: नयाँ उचाइमा पुगेको सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९९७ अंक पुगेको छ।

करीब २९ अंकले बढेको बजारमा ८ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आइतबारको तुलनामा कारोबार रकममा भने सामान्य संकुचन आएको छ। आइतबार ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यसमध्ये वाणिज्य बैंकहरुको मात्र सेयर किनबेच चार अर्ब ३१ करोड रुपैयाँको भएको छ ।

सोमबारको बजारमा सुरु देखिनै उतारचढाव देखिएको थियो। एक समय ५८ अंकले बढेको बजार कुनै समय ३ अंकसम्ममा सीमित भएको थियो।

सुरुवातमा बैंकिङ र व्यापार समूहले उचालेको बजार बन्द हुँदा भने हाइड्रोपावर, जीवन बीमा र निर्जीवन बीमा समूहले उचालेको छ।

सरकारी स्वामित्वका माथिल्लो तामाकोशी, रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै बजार बन्द हुनु केही समय अघि युनाइटेड मोदी हाइड्रोपवारको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स र साल्ट ट्रेडिङ कम्पनीका सेयर मूल्य पनि करिब १० प्रतिशत हारहारीमा वृद्धि भएको छ।

विगत लामो समयदेखि सर्वाधिक कारोबार भइरहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर सोमबार पनि सर्वाधिक किनबेच भएको छ। तर गत बिहीबार र आइतबारको तुलनामा भने कारोबार रकम घटेको छ। यस अघि दैनिक ५० करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भइरहेको उक्त कम्पनीको सेयर सोमबार ३७ करोड रुपैयाँमा सीमित भएको छ।

अन्तिम एक घण्टामा सर्वाधिक किनेबच भएपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ३८ करोड रुपैयाँको किनबेच भएको छ।

सुरुवातमा बैंकिङ समुहको सूचक उकालो लाग्दा प्रभु बैंक, ग्लोबल आइएमई बैंक र नेपाल बैंकको सेयर सर्वाधिक कारोबार भएकोमा अन्तिम १ घण्टामा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक किनबेच हुने कम्पनीको सूचीमा आएको हो।

सर्वाधिक सेयर किनबेच हुने १० वटा कम्पनीमा २ वटा बीमा कम्पनी नेपाल लाइफ र पुनर्बीमा कम्पनीपछि सबै बैंकहरु रहेका छन्। सर्वाधिक सेयर किनबेच हुने १० कम्पनीको कारोबार रकम २२ करोड देखि ३८ करोड रुपैयाँसम्म रहेको छ।

सुरुवतामा लिड गरेको बैंकिङ समुह अन्त्यमा भने ९ अंकले घटेको छ। सर्वाधिक वृद्धि भएको जीवन बीमा समूहको सूचक ८२३ अंकले वृद्धि भएको छ। निर्जीवन बीमा समूह १९३ अंक र ट्रेडिङ समूह १५१ अंकले वृद्धि भएको छ। बैंकसँगै विकास बैंक, म्याचुअल फण्ड र फाइनान्स समूहको सूचक भने घटेको छ।

दिनभरीमा १९८ कम्पनीको सेयर किनबेच भएकोमा ११० वटा कम्पनीको सेयर मूल्य बढेको छ। ५६ वटा कम्पनीको मूल्य घट्दा अन्य कम्पनीको मूल्य स्थिर रहेको छ। ११० वटा कम्पनी मध्ये ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version