काठमाण्डौं: सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति २०७७ सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त नीति सार्वजनिक गरेका हुन्।

यसअघि जलस्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिंचाइ, विद्युत, जलउत्पन्न विपद व्यवस्थापनका छुट्टा छुट्टै नीति भएपनि एकीकृत नीति थिएन। मन्त्री पुनले सार्वजनिक गरेको नीतिका ७ वटा उद्देश्य र ११ वटा रणनीति समेटिएका छन्।

नयाँ नीतिले जलस्रोतको बहुआयामिक तथा दिगो विकास र बहु-उपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मूल उद्देश्य लिएको पुनले बताए।

यस्तै जलस्रोतको अध्ययन, अनुसन्धान, बहुउद्देश्यीय उपयोग, विकास, व्यवस्थापन, नियमन र संरक्षणलाई नीतिले उच्च प्राथमिकतामा राखेको छ।

नीतिले राष्ट्रिय जलउपयोगको बहुआयामिक आवश्यकताहरुको सहज आपूर्तिकालागि समुचित प्रयोग गर्ने, जथलस्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्‍याउने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमनगर्दा अध्ययन, अनुसन्धान, तथ्थ एवं प्रमाणका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने, संघ प्रदेश र स्थानीयतहको समन्वयमा जलस्रोतको संरक्षण, विकास तथा उपयोग हुने व्यवस्था गर्ने लक्ष्य लिएको छ।

नीतिका अन्य उद्देश्यमा नागरिकको आवश्यकता परिपूर्तिकालागि आवश्यक पर्ने जलस्रोतजन्य सेवा सुविधा सहज, सुलभ, सुपथ र समन्यायिक तवरले उपलब्ध हुने गरी जलस्रोत क्षेत्रको विकास गर्ने, आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा पर्नसक्ने नकारात्मक प्रभाव न्यून हुने गरी जलस्रोतको विकास र उपयोगको व्यवस्था मिलाउने र जलउत्पन्न विपदको न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने पनि नीतिका लक्ष्य छन्।

नीतिमा जलस्रोत क्षेत्रको अध्ययन, अनुसन्धान, तथ्याङ्क संकलन, विश्लेषण, अभिलेखीकरण, नियमनतथा संरक्षणको काम जल तथा ऊर्जा आयोगले गर्ने व्यवस्था गरेको छ। यस्तै आवश्यकताअनुसार जलस्रोतको उपयोग, विकास, व्यवस्थापन तथा संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा समेत निकायहरु स्थापना गर्न सकिने बाटो नीतिले खोलिदिएको छ।

विकास आयोजनाहरुको निर्माण गर्दा जलस्रोतको संरक्षण गर्नुपर्नेमा नीतिले जोड दिएको छ। यस्तै नीतिमा जलस्रोतका अति महत्वपूर्ण तथा संवेदनशील क्षेत्रहरुलाई जलस्रोत संरक्षित क्षेत्र घोषणा गरिने उल्लेख छ।

यस्तै मुलुकमा उपलब्ध तातोपानीका मुलहरुको पहचिान गरी त्यसको बहुउद्देश्यीय उपयोग गर्ने विषय पनि नीतिमा छ। प्रमुख नदीहरुबाट जलयातायातको माध्यमबाट समुद्रसम्म पहुँचको व्यवस्था गर्न छिमेकी मुलुकहरुसँगको सहकार्यमा नीतिले जोड दिएको छ।

यस्तै प्रमुख नदीहरुमा पहिचान भएको बहुउद्देश्यीय आयोजनाको अवयवका रुपमा जलयातायातसमेत समावेश गरिने नीतिमा उल्लेख छ।
जलस्रोतको उपयोग एवं व्यवस्थापन गर्दा एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुसार खानेपानी, सिंचाइ, विद्युत, पर्यटन, जल यातायात, उद्योग, मत्स्यपालन जस्ता बहुउद्देश्यीय आयोजनाहरुलाई प्राथमिकता दिने नीतिको लक्ष्य छ।

नीतिमा कृषि योग्य भूमिमा वर्षैभरी सिंचाइ सुविधा पुर्‍याउने, सर्वसुलभ रुपमा खानेपानी सेवा उपलब्ध हुने, वर्षा र सुख्खायामबीचको जलविद्युत उत्पादन क्षमताको भिन्नतालाई कमगर्ने, बाढी विपदलाई न्यूनीकरण गर्ने, औद्योगिक प्रयोजन, मत्स्यपालन, नौकाबिहार जस्ता जलक्रिडा लगायतका अन्य प्रयोजनका लागि वर्षैभरि पानी उपलब्ध गराउने, बहुउद्देश्यीय जलासययुक्त तथा अन्तर जलाधार जलस्तान्तरण आयोजनाहरुको विकासलाई प्राथमिकता दिने पनि उल्लेख छ।

यस्तै एक स्थानको पानी आवश्यकता अनुसार अर्को स्थानमा लगेर प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ। नीतिले प्रत्येक नदी बेसिनमा रहेको जलस्रोतको उपलब्धता, परिणाम, गुणस्तर, विद्यमान उपयोग, भावी आवश्यकता र आपूर्तिको स्थिति सम्बन्धी विवरण तथा तथ्याङ्क तयार गरी अध्यावधिक गर्ने उद्देश्य लिएको छ।

प्रत्येक नदी बेसिनको जलस्रोतमा भइरहेको दोहन तथा प्रदूषण खोलानाला तथा तालतलैयाहरुको आकृतिमा परिरहेको असर सम्बन्धी विवरण तथातथ्याङ्क तयार गरी अद्यावधिक गर्ने नीतिको उद्देश्य छ।

जलस्रोतका सम्पूर्ण विवरण विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने भएको छ। नीतिको मस्यौदा तयार पार्नुअघि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिव, स्थानीय जनप्रतिनिधि, जलस्रोतका क्षेत्रमा काम गर्ने विज्ञ तथा संघीय संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समिति तथा जलस्रोतसँग सरोकार राख्ने सरकारका विभिन्न मन्त्रालयसँग सुझाव संकलन गरिएको थियो।

अब तीन तहका सरकारबीच पानीको विवादहुँदैनःमन्त्री पुन

नयाँ नीति सार्वजनिक गर्दै मन्त्री पुनले पानीको उपयोग, संरक्षण, नियन्त्रण र नियमन सम्बन्धी एकीकृत नीतिको अभाव रहेकाले जलस्रोत नीति ल्याइएको बताए। जलस्रोतको उपयोग तथा संरक्षण गरी भावी सन्ततिलाई हस्तान्तरण गर्ने उद्देश्य नीतिले लिएको पुनले बताए।

नीतिले सुखी नेपाली, समृद्ध नेपालको सरकारको अभियानमा सघाउने विश्वास मन्त्री पुनको छ। यस्तै संविधानले व्यवस्था गरेका तीनवटै सरकारले उपयोग गर्ने र तीनवटै सरकारले संरक्षण गर्ने विषयलाई नीतिले जोड दिएको पनि पुनले बताए।

जल तथा ऊर्जा आयोगका सचिव सागरकुमार राईले वातावरणीय, सामाजिक र सांस्कृतिक सन्तुलन नखलबल्याउने गरी पानीको प्रयोग गर्ने विषय नीतिमा समेटिएको बताए। नीतिले जलश्रोतको उपयोग गरी मुलुकलाई कसरी समृद्ध बनाउने भन्नेबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सचिव राईको भनाइथियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version