काठमाडौं: श्रीराम सुगर मिल्सले उखु किसानको तिर्न बाँकी रकममध्ये पुस ३ र ५ मा गरी कुल २५ करोड ३० लाख रुपैयाभन्दा बढी बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

रौतहटको गरुडास्थित २६ वर्ष पुरानो यो चिनी उद्योग गोल्छा समूह र विशाल ग्रुपको लगानीमा संचालित थियो । दुवै व्यापारिक घरानाले सधैंका लागि उद्योग बन्द गर्ने औपचारिक निर्णय २०७७ साउन ९ मा गरेका थिए । उद्योग बन्द हुँदा यसले किसानलाई २०७१ सालदेखिको कुल ३५ करोड रुपैयाँ तिर्न बाँकी रहेको रौतहट उखु उत्पादक संघको भनाइ छ ।

किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि सम्पूर्ण रकम उद्योगको बैंक खातामा जम्मा गरिसकेको उद्योगले पुस ५ मा जारी विज्ञप्तिमार्फत जिकिर गरेको छ । यससँगै बाँकी बक्यौता पनि प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने पनि विज्ञप्तीमा जनाइएको छ ।

उद्योगले पुस ३ मा १६ करोड ४४ लाख ७० हजार र पुस ५ मा ८ करोड ८५ लाख ५७ हजार रुपैयाँ उद्योगको बैंक खातामा जम्मा गरेको हो । उक्त रकम (करिब २५ करोड ३० लाख रुपैयाँ) भुक्तानीका लागि किसानहरुको खाता रहेका बैंकहरुलाई निर्देशन दिएको र किसानको खातामा जम्मा भइरहेको पनि उद्योगले विज्ञप्तीमा उल्लेख गरेको छ ।

झन्डै तीन दशक पुरानो यो उद्योग निरन्तर घाटा र बाध्यात्मक परिस्थितिका कारण बन्द गरेको संचालकहरुको भनाइ छ । उनीहरुका अनुसार उद्योग बन्द गर्नुअघिसम्ममा करिब २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । मिल्स बन्द हुँदा साढे तीन सयजनाले रोजगारी गुमाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version