काठमाडौं : व्यापक करेक्सनपछि पुँजी बजार फेरि बुलिस यात्रामा अघि बढेको हो । यसअघि नेप्से २१ सय अंकभन्दा माथि पुगेपछि करेक्सन भएको हो ।
करेक्सन हुँदै सूचक १८८१ भन्दा पनि तल आएपछि पुनः माथिल्लो यात्रामा अघि बढेको हो । अर्थमन्त्री विष्णु पौडेलले तत्काल ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने तयारी गरेको छ । यसले लगानीकर्ता थप उत्साहित भएका हुन् ।
यसबाहेक ठूलो करेक्सन आएकाले बजारमा सेयरको भाउ निकै सस्तो भएको छ । भाउ सस्तो हुँदा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेको हो । यस्तै बजार बुलिस प्रवृत्तिमा छ । प्रत्येक बुल बजारले त्यस अगाडिको उच्चतम विन्दुहरुलाई पार गरेको यसअघिको तथ्यांक छ । बुलिस प्रवृत्तिको बजारले क्रमशः नयाँनयाँ उचाईहरु बनाउने अनुभवी लगानीकर्ताहरुको भनाई छ ।
करेक्सनपछि नेप्से फेरि निकै बलियो हुँदै गएको अनुमान गरिएको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारमा आकर्षण बढिरहेको छ । यसबाहेक बजार चक्रीय नियम अनुसार अहिले बुलिस प्रवृत्तिमा अघि बढेको छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि स्थान रहने गर्छ ।
यसअघि मुलुकमा एकाएक उत्पन्न राजनीतिक अस्थिरतका कारण आम लगानीकर्ता केही अन्योलमा परेका थिए । तर अहिले त्यसलाई लगानीकर्ताले सामान्यरुपमा लिन थालिसकेका छन् । यस्तो बेलामा आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्न सक्नुपर्छ । विशेषगरी, कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, रिजर्भ लगायतमा ख्याल गर्नुपर्ने हुन्छ ।
नेप्से सूचक ९५.४६ अंकले बढेर २०६१.४१ विन्दुमा आइपुगेको छ । बजार ४.८६% वृद्धि भएको हो । ६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड २७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहका सूचक वृद्धि भएका छन् । सबै समूहका सूचक वृद्धि भएका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ९५०.९५ अंकले वृद्धि भएको छ ।
