काठमाडौं: पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको आरोप लगाएका छन् ।
नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ नभई संविधान र व्यवस्था माथिको ‘कू’ गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गरेको ‘कू’ २०१७ सालमा राजा महेन्द्र र २०६०÷६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कू’ जस्तै भएको बताए । उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन ‘कू’ गरे र ६०÷६१ सालमा राजा ज्ञानेन्द्रले जुन ‘कू’ गरे त्यसैको हाराहारीको यो ‘कू’ हो । संवैधानिक ‘कू’ होइन । त्यो त संविधान अन्तर्गत हुन्छ । संविधान माथिको ‘कू’ हो । व्यवस्था माथिको ‘कू’ हो । त्यसो हुनाले यसलाई समान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौं ।’
