काठमाडौं: भारतीय च्यानल, जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेको पाइएको हो ।

अबैध रुपमा प्रवेश गरेर नेपालको सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद सामग्री तयार पार्ने काममा सहयोग गरेको भन्दै विभागले सिमि्रक एयरविरुद्ध कारबाही प्रकि्रया अघि बढाउने तयारी गरेको हो ।

राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य भन्छन्, ‘प्रवेश शुल्क, हेलिकप्टर ल्याण्डिङ शुल्क नतिरिएको मात्रै होइन, निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न अनुमति समेत लिइएको पाइएन, त्यसैले विना अनुमति निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गराएकोमा सिम्रिक एयरलाई कारबाही गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका प्रधानसम्पादक चौधरीको टोलीले डिसेम्बर १ मा अवैध रुपमा सगरमाथा क्षेत्रमा गएर रिपोर्ट तयार पारेको थियो । सो रिपोर्टमा उनले सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका थिए । चौधरीले रिपोर्टमा भारतले माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर स्वामित्व दाबी गर्नुपर्ने बारेमा अभियान चलाएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को १० औं संशोधनको दफा ४ ले राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा बन्देज सम्बन्धी व्यवस्था गरेको छ । जसमा तोकिए बमोजिमको प्रवेशपत्र वा राष्ट्रिय अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नपाई कुनै पनि व्यक्ति निकुञ्ज वा आरक्षभित्र प्रवेश गर्न पाउने छैन भन्ने उल्लेख गरेको छ ।

तर चौधरीको समूह र सिम्रिक एयरलाई समेत प्रवेश अनुमति नदिइएकोले जी न्युजको टोलीको कालापत्थरको भ्रमण अवैध ठहरिएको राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

कानुनअनुसार यसरी अवैध रुपमा प्रवेश गर्नेलाई तोकिएको शुल्कको दोब्बरसम्म जरिबाना गराउन सक्ने प्रावधान छ ।विभागलाई निकुञ्जले गरेको रिपोर्टिङ अनुसार जी न्युजका प्रतिनिधिहरू एयरपोर्टबाट सोझै निकुञ्ज क्षेत्रमा पर्ने कालापत्थरमा ल्याण्डिङ गरेको र त्यहाँ रिपोर्ट बनाएर फर्किएका थिए । सो क्रममा उनीहरुले विनाअनुमति निकुञ्ज क्षेत्रमा ल्याण्डिङ गर्ने, विना अनुमति प्रवेश गर्ने र अनुमति विपरीत फिल्म वा वृत्तचित्र सुटिङ समेत गरेकाले ३ वटा कसुर गरेको देखिएको विभागले जनाएको छ ।

अहिले निकुञ्ज क्षेत्रमा हेलिकप्टर ल्याण्डिङको ३ हजार रुपैयाँ, सार्क राष्ट्रका नागरिकको लागि जनही १५०० रुपैयाँ र डकुमेन्ट्री वा फिल्म सुटिङको लागि अलगै शुल्क लाग्ने गर्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version