काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिएका छन्।
तीनदिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्।
‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ।’
मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने समहमति भएको बताए।त्यस्तै हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए।
मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि गत बिहीबार दिल्ली गएका थिए।
भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप महाकालीमा तीनवटा पुल बनाउने सहमती भएको मन्त्री ज्ञवालीले जानकारी दिए।
त्यस्तै रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि समहति भएको उनले बताए।
बैठकमा भूकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ। नेपाल–भारत बीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ।
भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ। कृषिमा थप सहकार्य गर्ने तथा जीटुजी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।
आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।
