काठमाडौँ: शेयर बजार परिसूचक मापक तीब्र उतार चढावका बीच सोमबार नेप्सेले १६.०४ अंकले बढेर ऐतिहासिक उचाइ चुमेको छ ।
बजारको सुरुवाती पाँच मिनेटबाटै अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लाग्दा उच्च बिक्रीचापका कारण घटेको नेप्से १२ बजेर ५४ मिनेटमा इन्ट्रा डे को सबैभन्दा न्यून बिन्दु २४०९.६२ बिन्दुसम्म झरेको हो । त्यसपछि लयमा फर्केको बजार २४४०.८७ को बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर ७२ हजार ७७३ पटक कारोबार आउँदा कारोबार रकम ८ अर्ब ९० करोड ३५ लाख पुगेको छ । ठूला कम्पनीहरुको सूचप मापक सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२ बिन्दुमा झरेको छ ।
नेप्सेमा आएको उच्च सुधारसँगै लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यो देशको कुल ग्राहस्थ उत्पादनको ८७ प्रतिशत हो ।
