काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रतिक्रान्तिको वकालत गर्ने केपी ओलीको हार निश्चित भएको बताएका छन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन्।
उनले एकता प्रक्रिया र महाधिवेशन दुवै नभएर पार्टी विभाजन भएको बताए। पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उनले बताए।
‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै ठाउँ नै छैन।’
आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने उनले बताए। उनले अहिले भइरहेको आन्दोलन र संघर्ष पदप्राप्तिको नभएको समेत बताए।
कार्यक्रममा उनले भने, ‘पार्टी एकता भएर देशमा एउटा नयाँ भरोसा, ऊर्जा, उत्साह पैदा भएको थियो। निर्वाचनमा एउटै घोषणापत्रसहित दुईवटा कम्युनिस्ट पार्टी चुनावमा जाँदा सबैमा नयाँ ऊर्जा, उत्साह पैदा भएको थियो।’
जनतामा समेत एकीकृत कम्युनिस्ट पार्टीले २५÷३० वर्ष नेतृत्व गर्छ र विकास समृद्धिको युग सुरु हुन्छ भन्ने भरोसा पैदा भए पनि पार्टी विभाजन भएको उनको भनाइ छ।
‘चुनावको बेला जनताले पार्टी एकताको संकल्पलाई अनुमोदन गरेको थियो’, उनले भने, ‘तर दुर्भाग्य ३ महिनामा सक्ने भनेको पार्टी एकता प्रक्रिया ३ वर्षमा सकिएन, २ वर्षमा गर्ने भनिएको महाधिवेशन भएन। उल्टो पार्टी विभाजन भएको छ। सोच्दै नसोचेको सामना गर्नुपरेको छ।’
असाधारण परिस्थितिमा बोलाइएको परिषदको बैठक भएकाले यो अगुवा नेता, शिक्षकहरुको जमघट भएको बताए।
उनले भने, ‘पार्टीको तर्फबाट ठीक समय रोजेर महत्वपूर्ण बैठक आयोजना गर्नुभएको छ। महत्वपूर्ण निर्णयसहित यो समयमा योगदान पुर्याउनुहोला।’
नेपालमा राजनीतिक आन्दोलन सामान्य रुपले र विशेष रुपले कम्युनिष्ट आन्दोलनलाई सफल पार्नुमा शिक्षकको भूमिका रहेको बताउँदै उनले आफैँले पनि ३ वर्ष शिक्षण पेसा गरेको बताए।
नेपालमा दुवै आन्दोलन शिक्षकको योगदानबाटै स्थापित भएको प्रचण्डको भनाइ छ।
उनले युद्धपीडित शिक्षकलाई पुनर्बहाली गर्न आफू प्रधानमन्त्री हुँदा काम गर्न खोजेको बताए। आफूले शिक्षकहरुको सेवा सुविधालगायतका विषयमा क्याबिनेटमा लगेको फाइल समेत थन्किएको दाबी गरे।
‘यथार्थ के हो भने केपी ओली नै शिक्षा क्षेत्रमा सुधार गर्न रोक्ने मान्छे हुन्’, शिक्षामन्त्री गिरिराजमणिमार्फत पटक पटक सुझाव दिएको बताउँदै उनले भने, ‘सुझाव र प्रतिवेदन पठाइएका हुन्, हामीले केही नगरेको, वास्तै नगरेको होइन।’
उनले अहिले केपी ओलीबाट गणतन्त्रविरुद्ध जो प्रहार भएको बताउँदै त्यसलाई परास्त गर्न एक भएको बताए।
