काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबारका विभिन्न क्यान्टिनमा अनुगमन गरी अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई कारबाही गरेको छ ।

शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित क्यान्टिनमा अनुगमन गरी विभिन्न अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई जरिवाना समेत तिराएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अर्थ मन्त्रालय परिसरमा संचालित क्याण्टिन(म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित क्याण्टिन(गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरिएको प्रवक्ता सेढाईंले बताए ।

अनुगमनका क्रममा उनीहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु बिक्री गरेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणिक नापतौल मेसिन प्रयोग गरेको पाइएको हुँदा उपभोक्ता संरक्षण ऎन अनुसार उनीहरुलाई कारबाही गरिएको प्रवक्ता सेढाईंले जानकारी दिए ।

प्रवक्ता सेढाईंले भने, ‘अनुगमन टोलीले नियन्त्रणमा लिएको ३ हजार १४५ रुपैयाँ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरिएको छ र केन्द्रीय क्यान्टिनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।’

अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई नियमन सम्बन्धी कागजात पेश गर्न एवं मापदण्ड अनुसार क्याण्टिन सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version