काठमाडौँ: पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले ओलीले नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्चले हराइदिएको छ, अर अझ बलियो भयौँ भनेर हिँडिरहनु भएको छ, कसरी बलियो भइयो ?’ उनले भने, ‘राजीनामा दिनु कता हो कता, अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र ?’

प्रधानमन्त्री ओलीले देखाइदिन्छु भनेको संकटकाल लगाउँछु भन्ने खोजेको हो कि भन्दै दाहालले भने, ‘उहाँ त अहिले पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक रुपमा उहाँको प्रतिगमनलाई सर्वोच्चले खारेज गरेपछि उहाँ प्रधानमन्त्री पदमा एक क्षण बस्न लायक पनि हुनुहुन्न ।’

ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप लगाउँदै दाहालले भने, ‘प्रतिक्रियावादीहरु षड्यन्त्र गर्छन्, सफल हुँदैनन्, फेरि बेइमानी, षड्यन्त्र गर्छन् सफल हुँदैनन् । जबसम्म पतन हुँदैनन् तबसम्म षड्यन्त्र र गडबड गर्छन् । केपी ओली पनि यही बाटोमा हिँडेका छन् । ओली प्रतिक्रियावादी पात्रको एउटा रुप हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version