काठमाडौं: सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार खोप खरिदका लागि अर्थ मन्त्रालयले स्रोत पनि सुनिश्चित गरिदिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा मंगलबार सचिव अर्यालले भने, ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं ।’
भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा १४ माघदेखि खोप अभियान सुरू भएको थियो ।
नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेको छ, जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ । यो १५ दिनभित्र आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जानकारी दिएका छन् ।
चीनले पनि ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । यस्तै कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख आउँदैछ । यो सबै गर्दा सरकारसँग १ करोड १० लाख डोज खोप हुने सचिव अर्यालले जानकारी दिए ।
खोप ल्याउन निजी क्षेत्र अनिच्छुक
यसैबीच कोभिड–१९ खोप ल्याउन निजी क्षेत्र अनिच्छुक देखिएको छ । सरकारले २१ माघमा निजी क्षेत्रलाई कोरोना खोप ल्याउन शर्तसहित खुला गरेको थियो ।
औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा राखिएका विभिन्न मापदण्ड पूरा गर्नेले खोप ल्याउन सक्ने व्यवस्था सरकारले गरेको थियो । संहिताअनुसार निजी क्षेत्रले खोप ल्याउन चाहँदा मुख्यतः तीन वटा शर्त पूरा गर्नुपर्छ ।
