काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव नहुने बताएकी छिन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्री अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताइन्।
उनका अनुसार तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति हुनेछ ।
‘मलको दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको छ ।’-उनले भनिन्। उनले मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था समेत गरिने जानकारी दिइन।
अनुमानको आधारमा मलको आपूर्ति नभइ तथ्य र आवश्यकताका आधारमा गर्ने उनको भनाई छ । सबै प्रदेशसँग त्यहाँको मलको माग कति छ बुझेर त्यसैका आधारमा मलको प्रबन्ध गरिने मन्त्री अर्यालले बताइन्।
यस आर्थिक वर्षमा मलको लागि ११ अर्ब बजेट व्यवस्था गरिएको छ । यस मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको छ ।
जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो। गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको मन्त्रालययले जनाएको छ ।
यस आबको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिएको छ ।
पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने मन्त्रालयले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिका लागि यसै महिनाबाट आयात प्रक्रिया शुरु गरिने पनि कृषि मन्त्रीले जानकारी दिएकी छन्।
