काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ।
गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।
साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।
सत्तारुढ नेकपाको एक खेमामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष छन् । अर्को खेमामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष छन् । प्रचण्ड—माधव खेमाले ओलीलाई अध्यक्ष र पार्टीको साधारण सदस्यता समेतबाट कारबाही गरेको भनेको छ । ओली खेमाले भने द्वितीय अध्यक्षमा प्रचण्डलाई कायमै राखेको छ ।
प्रचण्ड—माधव खेमाले पार्टीको आधिकारिकताका लागि निर्र्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले ठोस निर्णय गरेको छैन ।
