काठमाडौँ: आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।

हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु गरिनेछ।

‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ हुनेछ,’ नेता पोखरेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘सर्वाेच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्यो/पुगेन, के-कस्ता प्रतिक्रिया आए/ आएनन्, (पार्टी) कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’

उनका अनुसार पत्र पुगेको २४ घण्टाभित्र कुनै प्रतिक्रिया नदिने वा ‘हामीले जे गरेका छौं ठीक गरेका छौं’ भन्ने प्रतिक्रिया दिने नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ।

आज यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने उनले बताए। ‘निर्णय नै त आज नहोला, तर छलफल सुरु हुन्छ,’ उनले भने।

हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version