काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से बुधबार ४०.४० अंकले फर्किएको छ । लगातार ५ कारोबार दिनमा ११७ अंकले घटेको नेप्सेमा मंगलबार २.५६ अंकको झिनो सुधार आएकोमा बुधबार उच्च अंकको वृद्धि देखिएको हो । गिरावटपछि आएको बाउन्स ब्याकमा ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेर सकारात्मक सर्किट लागेको छ ।
सूचक बढेसँगै नेप्से २ हजार ५३२.२४ बिन्दुुमा पुगेको छ । बुधबार २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटकको कारोबारबाट कारोबार रकम ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार १२ लाख कम कारोबार भएको छ ।
कारोबारमा आएका सबै समुहका सूचकमा हरियाली छाएको बजारमा होटल तथा टुरिजम्को इन्डेक्स सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ । लघुवित्त, अन्य, र जीवन बीमाको सूचकमा २ प्रतिशत धेरेको सुधार देखिएको छ भने म्युचुअल फण्ड १ प्रतिशतभन्दा कम बढ्दा बाँकी सबै १ प्रतिशत बढीले बढेका छन् ।
बुधबारको बजारमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को उच्च कारोबार भएको छ । बैंकको ३ लाख ७८ हजार १७ कित्ता शेयर २० करोड रुपैयाँमा खरीद बिक्री भएको हो ।
यसैगरी नेपाल लाइफ, एचआईडिसीएल, अपर तामाकोशी, एनटिसी, नबिल बैंक, प्रभु बैंक संस्थापक, नेपाल बंगलादेश बैंकको १० करोड बढीको शेयर कारोबारमा आएको छ । नेको इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको पनि उच्च कारोबार भएको छ ।
