काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्नु पर्ने बताएका छन् । तयारी नगरी लगानी सम्मेलन गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ ।

“रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ । “लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत परियोजनामा बाहेक अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन,” गोल्छाले भने,“महासंघले भारत, चीन लगायतका बाह्य लगानी ल्याउन परिणाममुखी काम गर्नु पर्ने भएकाले महासंघ त्यसको तयारी गरिहेको छ ।”

आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेको भएपनि थप बाह्य लगानी भित्रन सकेको छैन । समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयास आवश्यक रहेको उनले बताए ।

नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी बताउदै गोल्छाले भने,“बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने नाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको छ ।” वाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो । तर यससन्दर्भमा हामी भर्खर अभ्यास गर्दैछौं । अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक रहेको उनको भनाई छ ।

कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिडपछि नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिले देखिनै गृह कार्य गर्न जरुरी रहेको उनको बुझाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार गर्ने गोल्छाले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्न आग्रह गरेका थिए । समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तराष्ट्रिय लगानी प्रवद्र्धन रहेकाले यसमा ठोस उपलव्धी हुने गरि समितिलाई केन्द्रीत गर्न उनले सुझाव दिएका छन । अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न सुझाएका छन् । उनले भने,“भारत र चीनका दुतावासहरूसंग समेत समन्वय गरेर गृहकार्य थाल्नुहोस ।”

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन । त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त रहेका छन भने आमन्त्रितहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी रहेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version