काठमाडौं: आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।

कर्माचार्यका अनुसार नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिन्छ । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्य बताउँछन् । करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने गर्छन् ।

हनुमान ढोका दरबार संग्रहालयका संग्रहालय अधिकृत जयनारायण कार्कीका अनुसार नेपाली सेनाको शार्दुलजङ्ग गुल्मको टोलीले श्लेषमान्तक वनबाट मयलको रुखको हाँगा ल्याएर चीर बनाई हनुमानढोका दरबारको मोहनकाली चोक, त्रिशूलचोक, नासलचोकमा पनि विभिन्न ध्वजासहितको चीर ठड्याइएपछि होलीको औपचारिक सुरुवात हुने चलन छ ।

रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version