काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बजेट कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरि कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २२औं वार्षिक साधारसभामा उनले सो धारणा राखेका हुन्। ढकालले कोभिडबाट अर्थतन्त्रले धेरै ठूलो क्षति ब्योहोरेको बताउँदै गत वर्ष छुटेका नीतिलाई समेटेर बजेट ल्याउनुपर्ने बताए।
‘गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो। तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन। यो वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने नीति ल्याउन आवश्यक छ,’ढकालले भने।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकैप्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो मारमा परेको बताए।
