काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) ले कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका छन्।

आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताएका हुन्।

सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरि पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उनको भनाई छ।

‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन। हामी अहिले नेकपा (एमाले) को निम्ति दुई वटै हातमा लड्डु छ’, उनले भने, ‘३ वर्षसम्म सुरुवात गरिएको समृद्ध नेपाल सुखि नेपालीको अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन् त्यो आयोजनालाई सम्पन्न गर्नको निम्ति सरकारलाई अवसर छ।

विपक्षी दलहरु मिलेर सरकारलाई अविश्वास प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहेर प्रमुख प्रतिपक्षी दलको पार्टीको रुपमा रहेर आगामी निर्वाचनको लागी तयारी गर्ने अवसर हुन्छ। त्यो अवसरलाई उपयोग गर्दै आगामी निर्वाचनबाट बहुमतको सरकारबाट फेरीपनि सिंहदरबार गेटबाटै प्रवेश गर्ने प्रधानमन्त्रीको अठोट, आत्मविश्वास, ऊर्जा छ । जनतालाई ऊर्जा थप्ने काम भएको छ । सत्तामै टिक्न,टिकाउनको निम्ति त्यो किसिमको कुनै सम्झौता गर्ने पक्षमा नेकपा(एमाले) पार्टी र प्रधानमन्त्री ओली हुनुहुन्न ।’

मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गुटबन्दीको अन्त्य गरिने बताए। गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडि बढेको उनको भनाई छ।

‘पार्टीमा अब कुनै पनि किसिमको गुटबन्दी अन्त्य गर्ने भन्ने कुरा नै पार्टीको एजेण्डा हो। त्यसैले गुटबन्दीका कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजित हुने र मुलुकको विकास र उन्नतिको लागि नभइकन पद र व्यक्ति र गुटको निम्ति रुमल्लिइरहने त्यो अवस्थाबाट अब मुलुकलाई अन्त्य गर्नुपर्छ र पार्टीलाई पनि त्यसबाट मुक्त गर्नुपर्छ जसको कारण आज पार्टी स्पष्ट दृष्टिकोणबाट अघि बढेको छ,’ उनले भने।

पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेलाई पार्टीले छुट नदिने उहाँको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version