काठमाडौँ: शेयर बजार परिसूचक नेप्से ६ साताको अन्तराल पश्चात ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से सूचले नयाँ रेकर्ड बनाउँदा कारोबार रकममा समेत सुधार आएको छ।

यो साताको पहिलो दिन नेप्से सूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च विन्दु २६५७.६१ विन्दुमा उक्लिएको छ । यसअघि गत फागुन ९ गते नेप्से २५४०.३५ विन्दुमा पुगेको थियो । फागुन ९ को उच्चविन्दु पश्चात घट्न थालेको नेप्से २३९० विन्दुबाट बाउन्स ब्याक भएर नयाँ उचाईमा पुगेको हो ।

बजारमा हल्ला गरिएजस्तो तरलता असहज नभएपछि बजारले सुधारको लय समातेको थियो । साथै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्ने दिनहरु नजिकँदै गर्दा प्रगति उन्मुख वित्तीय विवरण आउने आशले पनि लगानीकर्ताहरुले शेयर कारोबारमा तिब्रता दिएका हुन् । दीर्घकालिन लगानी गर्नेहरुले पनि अहिले शेयर किन्दा ६ महिनाभित्रै लाभांश पाउने अवस्था रहेकाले पनि लगानी बढाउँदै लगेको देखिन्छ ।

आइतबारको बजारमा कारोबारमा आएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमुल्क, म्युचुअल फण्ड एंवम लगानी समूहका सूचक नकारात्मक रहेपनि बैंकिङ्ग, बीमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यसदिन विशेषगरी बैंकिङ्ग समूहको सूचकमा उच्च सुधार देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको वित्तीय विवरणमा बैंकहरुले गतवर्षकै हाराहारीमा नाफा कमाएका थिए । असहज पस्थितिमा पनि बैंकहरुको नाफामा सुधारन्मुख रहेकाले पनि बैंकिङ्ग समूहतर्फ लगानीकर्ता आकर्षति भएका हुन् । स्टक डिलरले शेयर किन्ने सूचीमा पनि बैंकिङ्ग समूहका सबै कम्पनीहरु रहेकाले पनि शेयर कारोबार बढेको हो ।

यसदिन आधादर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । सबैभन्दा धेरै साल्ट्र ट्रेडिङको मूल्य घटेको छ । यसदिन निफ्राको सबैभन्दा धेरै ४६ करोड ८१ लाख बढीको शेयर किनबेच भयो । कुल २१२ कम्पनीको कारोबार भएको बजारमा ९ अर्ब बढीको शेयर किनबेच भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version