काठमाडौँ: भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ।

आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी प्रतिबन्धहरू लगाएका हुन्।

नयाँ प्रतिबन्धअनुसार अत्यावश्यकबाहेकका सबै पसलहरू अप्रिल अन्तिमसम्ममा बन्द हुनेछन्। रेष्टुरेन्टहरूबाट टेक अवे र होम डेलिभरी सुविधामात्र हुनेछ। राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइने छ। दिउँसो पाँच जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन।

सार्वजनिक सवारीमा क्षमताको ५० प्रतिशत यात्रुमात्र बोक्न पाइनेछ। अटो र ट्याक्सीले दुई जनामात्र यात्रु बोक्न सक्नेछन्।

सिनेमा हल, जिम, मल, प्ले ग्राउन्ड सबै बन्द हुनेछन्। विद्यालय र क्याम्पसका जाँच भए पनि पढाइ बन्द हुनेछ।

५० जना सहभागी भएर विवाह समारोह गर्न मिल्नेछ भने अन्तिम संस्कारमा २० जनामात्र सहभागी हुन पाउनेछन्। राज्यका स्वास्थ्य मन्त्री राजेश तोपेले मापदण्ड पालना नगर्नेलाई १० हजार भारूसम्म जरिवाना हुने बताएका छन्।

उता राजस्थान प्रदेश सरकारले पनि कोरोना संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यू लगाउने निर्णय गरेको छ। त्यहाँ राति ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइनेछ।

त्यहाँ अप्रिल ५ देखि १९ सम्म कक्षा ९ सम्मको पढाइ बन्द गरिएको छ भने सामाजिक समारोहहरूमा १०० भन्दा बढी मानिस जम्मा हुन प्रतिबन्ध लगाइएको छ। अरू राज्यहरूबाट राजस्थान जानेहरूले ७२ घन्टाभित्रको कोरोना नेगेटिभ रिपोर्ट पेस गर्नु पर्नेछ।

भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर तीव्र रूपले फैलिरहेको छ। पछिल्लो साता त्यहाँ दैनिक ९० हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने झन्डै ५ सयको हाराहारीमा संक्रमितले ज्यान गुमाउने गरेका छन्। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version