काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्स परीक्षामा भ्रष्टाचार गर्ने १९ जना बिरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले यातायात ब्यवस्था कार्यालय, भेरी अञ्‍चल, नेपालगञ्‍जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसमेत १९ जना उपर कैद र जरिवानाको मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

आयोगमा यो समूह बिरुद्ध सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्ने उजुरी परेको थियो । त्यसको अनुसन्धानमा प्रमुख सुवेदीले नेपालगञ्‍जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको भेटिएको हो ।

यस्तै उनी परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको हो ।

आयोगले प्रमुख सुुवेदी बिरुद्ध परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएकोले तीन महिनादेखि एकवर्ष कैद र पाँचहजार देखि १० हजार रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ । आयोगले तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेल बिरुद्ध पनि सुवेदीलाई सरह सजाय मागदाबी गरेको छ ।

अनुसन्धानमा तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय, नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटाले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी निजहरुले स्वीकार गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version